सहकारी संघ संस्थाहरूको दिगो विकास, प्रवद्र्धन तथा सहकारीलाई उत्पादनमूलक क्षेत्रमा जोड्ने उद्देश्यले आयोजित “सहकारीलाई उत्पादनसँग जोड्ने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम” शुक्रबार ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ ।
ललितपुर महानगरपालिकाको वित्तीय सहयोग तथा जिल्ला सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी भेन्युमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका विभिन्न सहकारी संघ संस्थाका पदाधिकारी, व्यवस्थापक तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व संघका अध्यक्ष श्री जगतलाल महजर्नज्यूले गर्नु भयो भने कार्यक्रम संचालन संघका सचिव श्री अनिल वीर बज्राचार्यज्यूले गर्नु भयो र संघका उपाध्यक्ष श्री शशि खड्का गुरुङज्यूले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै आफ्नो मन्तव्य व्यक्त गर्नु भयो ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्षा श्री रामहरी बजगाईंज्यूले कार्यक्रममा शुभकामना व्यक्त गर्दै जिल्ला संघले गरेको बजारीकरण को काम निकै राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो र यस कार्यलाई अझ बढी व्यापक बनाएर लैजानुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्षा श्री शरद कुमार महर्जनज्यूले सहकारी र बजारको सम्बन्धलाई जोड्दै जिल्ला संघ सक्रिय भूमिकामा रहेको कुरा उल्लेख गर्नुभयो। साथै सहकारीको काम बचत गर्ने र ऋण लगानी गर्ने मात्र हुनु हुँदैन भन्ने कुरामा उहाँले विशेष जोड दिनुभयो। अब सहकारीहरू उत्पादन र बजारीकरणको क्षेत्रमा पनि अनिवार्य रूपमा लाग्नुपर्छ र यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा व्यक्त गर्नु भयो।
ललितपुर महानगरपालिका, उध्योग शाखाका अधिकृत श्री चन्द्र डंगोलले सहकारीको उद्देश्य र सदस्यहरूको हितका बारेमा धेरै महत्वपूर्ण कुराहरू राख्नुभयो । सहकारी संस्था आफैँले मात्र कमाउने होइन, बरु यसले आफ्ना सदस्यहरूलाई कमाउने वातावरण सिर्जना गरिदिनुपर्छ । संस्था र समितिकाले सामूहिक हितका लागि र सदस्यहरूलाई दुःख नहुने गरी कार्य गर्नुपर्छ । बचत तथा ऋणको कारोबार अहिले निकै जोखिममा रहेको अवस्था छ । यस्तो बेला सदस्यहरूको हितमा काम गरेको थोरै मात्र देखिन्छ, त्यसैले सदस्यहरूलाई ढुक्क हुने वातावरण दिलाउनुपर्छ।
त्यस्तै कार्यक्रमका सभापति तथा जिल्ला सहकरी संघ लिमिटेड ललितपुरका अध्यक्षा श्री जगतलाल महर्जनले सहकारी अभियानलाई नयाँ दिशा दिनुपर्ने कुरामा जोड दिँदै बचत र ऋणको मात्र कारोबार गरेर अब सहकारी अभियानको विकास हुन सक्दैन। सहकारीलाई अब उत्पादनसँग जोड्नुपर्छ र उत्पादित वस्तुको बजारीकरण ९बजार व्यवस्थापन० गर्नुपर्छ। सहकारीमार्फत साना व्यवसायीहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको उत्पादनलाई बजारीकरण गर्ने काम गर्नुपर्छ। अबको दिनमा उत्पादन बढाउनेसँगै बजार व्यवस्थापन गर्ने कार्यमा सबैको प्रयास रहनुपर्छ। बजार व्यवस्थापनका लागि जिल्ला संघ सधैँ तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा सहकारी क्षेत्रलाई बचत तथा ऋणको सीमित दायराबाट बाहिर ल्याई कृषि, पशुपालन, घरेलु तथा साना उद्योग, उद्यमशीलता र अन्य उत्पादनमूलक क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । सहभागीहरूले सहकारीमार्फत स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा आर्थिक आत्मनिर्भरतामा योगदान पु¥याउने धारणा राख्नु भयो ।
प्रशिक्षण सत्रमा सहकारीको उत्पादनमुखी रूपान्तरण, व्यवसायिक योजना निर्माण, बजार व्यवस्थापन, मूल्इ शृङ्खला विकास तथा सदस्यहरूको आर्थिक सशक्तीकरणका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो । प्रशिक्षकहरूले उत्पादनमा आधारित सहकारी अभ्यासले सहकारी संस्थाको दिगोपन तथा सदस्यहरूको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो ।
कार्यक्रममा सहकारी आन्दोलनलाई उत्पादन र उद्यमसँग जोड्न सके मात्र राष्ट्रिय अर्थतन्त्र सुदृढ हुने उल्लेख गर्दै स्थानीय तह, सहकारी र समुदायबीच सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमको समापन गर्दै प्रशिक्षण तथा अन्तरक्रियाबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतारी उत्पादनमुखी सहकारी अभियानलाई थप सशक्त बनाउन सहभागीहरूलाई आग्रह गरियो । सहभागीहरूले कार्यक्रम उपयोगी, समयसापेक्ष तथा सहकारी क्षेत्रको रूपान्तरणका लागि मार्गदर्शक बनेको प्रतिक्रिया दिनु भएको थियो साथै आफ्ना सहकारी संस्थाले गर्नु भएको सफल अभ्यासको बारेमा जानकारी गराउनु भएको थियो ।
वित्तिय सहयोगको लागि ललितपुर महानगरपालिकालाई विशेष धन्यवाद, साथैै प्रशिक्षक श्री धर्मेन्द्र राज शाक्य र श्री राजन के.सी.ज्यूलाई समेत धन्यवाद ।
जय सहकारी ।